Syangja Dainik Media
भीरकोटमा वृहत् योग शिविर हुने

स्याङ्जाको भीरकोट नगरपालिकामा वृहत् योग शिविर सञ्चालन हुने भएको छ । शिविर भीरकोट खेलमैदानमा कार्तिक ९ देखि १३ गतेसम्म बिहान ५ देखि ७ बजेसम्म सञ्चालन हुनेछ । उक्त शिविरमा बालबालिका, युवा तथा जेष्ठ नागरिक सबै सहभागी हुन पाउनेछन् । 

भीरकोट नगरपालिका -१ को खेलमैदानमा संचालन हुने योग शिविरका लागि निवर्तमान नगर प्रमुख छायाराम खनालको संयोजकत्वमा ३९ सदस्यीय बृहत् योग शिविर व्यवस्थापन समिती गठन गरिएको छ । 

Ismt_Pokhara

शारीरिक श्रम कम गर्नेहरूका लागि योग अत्यावश्यक भएको उल्लेख गर्दै संयोजक छायाराम खनालले नगरवासीलाई शिविरमा सहभागिता जनाउन अनुरोध गरेका छन् ।

पतञ्जली योगपिठ नेपालको संयोजन तथा पालिकाको आर्थिक सहयोगमा "योग गरौं, स्वस्थ रहौं" भन्ने मूल नारासहित संचालन हुने उक्त शिविरमा तीनदेखि चार लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ । 
नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले नगरका नागरिकको स्वास्थ्य सुधारका लागि शिविरको आयोजना गरिएको बताउँदै भविष्यमा वडास्तरीय शिविर तथा विद्यालयहरूमा योग शिक्षा लागू गर्ने योजना रहेको जानकारी दिए । 

शिविरमा स्वास्थ्य लाभ लिन सहभागीहरुलाई पतञ्जली योगपिठ नेपालको संयोजक  साध्वी देवादितिले प्रशिक्षण दिनेछिन् । 

प्रकाशित मिति: मंगलबार, कात्तिक ६, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update