नेपालको पहिचानसँग जोडिएका परम्परागत रीतिरिवाज तथा रहनसहनजस्ता मौलिकता बिस्तारै हराउँदै जान थालेको छ । उचित संरक्षणका लागि यहाँको भीरकोट नगरपालिका–७ मा फरक शैलीको सङ्ग्रहालय सञ्चालन गरिएको हो ।
४५ घर गुरुङ समुदायको बसोबास रहेको यहाँ पछिल्लो समय लोप हुने अवस्थामा पुगेको मौलिक कला संस्कृति पहिचानलाई सङ्ग्रहालयमार्फत जोगाउने प्रयास गरिएको हो । जिजु बाजेका पालामा अत्यधिक प्रयोग गर्दैआएका मौलिक पहिचान पश्चिमेली संस्कृतिको प्रभाव पर्दैजान थालेपछि जीवन्त राख्न स्थानीयको पहलमा सङ्ग्रहालय स्थापना गरेको खिलुङ होमस्टेका अध्यक्ष अर्जुन गुरुङले बताउनुभयो ।
खिलुङ कालीका पर्यटन समितिले पर्यटन विकास समितिको आर्थिक सहयोगमा ३२ लाखको लागतमा सङ्ग्रहालय निर्माण गरेको हो । शाह वंशीय राजाहरूको उद्गमस्थलको रूपमा समेत चिनिने खिलुङ कालीका मन्दिरनजिक भएकाले समेत सङ्ग्रहालयको महत्त्व झन् बढेको हो ।
समुद्र सतहबाट एक हजार छसय मिटरको उचाइमा निर्माण गरिएको सङ्ग्रहालयमा लोप हुन लागेका पुर्खाहरूले प्रयोग गरेका ढिकी, जाँतो, पञ्चेबाजाका, डालो, सुपो, काठका ठेकी, दौरा सुरवाल, घलेक, कुटो, कोदालो, खुर्पा, स्याखु, हँसिया, कछिया, मल उठाउने असोक्रा, झ्याली, ढ्याङग्रो, घण्टी, सङ्खलगायतका रीतिरिवाज, धर्म र रहन सहनसँग जोडिएका मौलिक बस्तुहरू राखिएको छ ।
पुर्खाहरूले प्रयोग गर्ने सामग्री राखिएको सङ्ग्रहालय हेर्न विभिन्न ठाउँबाट पर्यटक आउने गरेको गुरुङले बताउनुभयो । भौगोलिक हिसाबले दुर्गम मानिने खिलुङ होमस्टे समेत रहेको यो गाउँमा पर्यटक भित्र्याउन सङ्ग्रहालयको पुखौँली सामग्रीले महत्त्वपूर्ण भूमिका खेलेको छ ।
सीमित स्रोत साधनका बाबजुद पनि यहाँ उलेख्य आन्तरिक पर्यटक आउने गरेका छन् भने सङ्ग्रहालय निर्माणले बाह्य पर्यटकको समेत भित्रिने आशा गाउँलेको रहेको छ । यहाँ पछिल्लो क्रममा फिल्म, म्युजिक भिडियो सुटिङ गर्ने र वनभोजका लागि समूह आउने गरेका छन् ।
कचौराभरी मह खुवाएर स्वागत गरिने खिलुङ होमस्टे आफैमा महत्त्व रहेको छ । यो ठाउँ जहाँबाट प्याराग्लाइडिङ गरिन्छ सोही ठाउँमा अवतरण गर्न सकिने नेपालकै एक मात्र प्याराग्लाइडिङ गर्ने ठाउँ हो ।