Syangja Dainik Media
महिला क्रिकेटर उत्पादनको केन्द्र बन्दै स्याङ्जा

स्याङ्‌जा पछिल्लो क्रममा महिला क्रिकेटमा अन्तर्राष्ट्रिय खेलाडी उत्पादनको केन्द्र बन्दै गएको छ। पटक पटकका यहाँका खेलाडी सहभागी टिमले खेलमा जित्दै आएकोमा यस पटक उनै खेलाडी युएईमा हुने आईसीसी अण्डर -१९ महिला विश्वकप छनोटमा परेका हुन् ।

 

कात्तिक १९ गतेबाट २९ सम्म हुने प्रतियोगितामा क्यानको छनोटमा स्याङ्जाका कुसुम गोदार, सिमाना केसी, ज्योत्सनिका मरासिनी छनोट हुन सफल भएका छन् । उनीहरुलाई नेपाल क्रिकेट संघ (क्यान) ले छनोट गरेको हो ।

 

१४ खेलाडी छनोट भएकोमा गण्डकीका चारजना छनोट हुँदा स्याङ्‌जाका तीन जना परेका हुन् । नेपाल, यूएई, कुवेत र थाइल्यान्डको सहभागिता रहने प्रतियोगितामा कास्कीकी रचना चौधरी गण्डकी प्रदेशबाट छनोट हुने अर्को खेलाडी हुन् ।

 

यसअघि सन् २०२२ आईसीसी अण्डर -१९ महिला वर्ल्डकप एसिया क्वालिफायरमा नेपालको महिला टिममा अन्तिम छनोटमा परेका ज्योत्सनिका मरासिनी र निरु जिटी आईसीसीको मापदण्डका अनुसार १५ वर्षभन्दा उमेर कम भए‌काले राष्ट्रिय टिमबाट बाहिरिनु परेको स्याङ्‌जा क्रिकेट संघका अध्यक्ष दिवाकर थापाले बताए ।

 

अन्तर्राष्ट्रिय खेलाडीहरुको उर्भरभूमि रहेको स्याङ्जामा क्रिकेट संघले 'क्रिकेट खेलबाट महिला सशक्तीकरण' र 'स्कूल टू वर्ल्ड कप' भन्ने मूल नाराका साथ २०७६ साल देखि पुरुषमात्र नभई महिला क्रिकेट विकासका लागि निरन्तर काम गर्दै आइरहेको छ । यहाँका महिला खेलाडीहरु गण्डकी प्रदेशको अण्डर -१९ तथा सिनियर महिला क्रिकेट टिममा १४ जना खेलाडीमा १० जना स्याङ्जा जिल्लाका खेलाडीहरु गण्डकी प्रदेशको प्रतिनिधित्व गरिरहेका छन् ।

 

२०७८ सालमा धनगडीमा आयोजित अण्डर -१९ सुदुरपश्चिम मुख्यमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता २०८० मा विजेता र २०८० माघ १२ गते देखि १९ गते सम्म चितवनमा आयोजित 'मैयादेवी स्मृति अण्डर -१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता'मा उपविजेता भएको हो। यस्तै राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका यहाँका खेलाडीले स्याङ्जा तथा गण्डकी प्रदेशको नाम एक बलियो प्रतिद्वन्दीको रुपमा परिचित गराइसकेका छन् ।

 

गण्डकी प्रदेश अण्डर-१९ तथा सिनियर महिला क्रिकेट टिममा चार वर्षबाट महिला क्रिकेटका अधिकांश खेलाडीहरु यहाँका खेलाडी प्रतिनिधित्व गर्दै आएका छन् । कमजोर आर्थिक अवस्थाका कारण क्रिकेट प्रशिक्षण र खेल्नका लागि आवश्यक सामाग्रीहरु जुटाउन निकै नै संघर्ष गर्नुपरेको र हालसम्म खेलाडीहरुलाई प्रशिक्षण तयारीका लागि कुनै पनि सरकारी निकायबाट प्रशिक्षण स्थल र क्रिकेट खेलमैदान निर्माणमा सहयोग नभएको थापाले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  ०९:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update