अमृत भादगाउँलेको लेख जस्ताको तस्तै
गाउँ पर्यटनको इतिहासमा सिरुबारीको नाउँ सुनौला अक्षरले लेखिएको छ । नेपालको पहिलो पर्यटन गाउँ सिरुबारी देश/विदेशमा प्रख्यात छ । स्याङ्जा जिल्ला आँधीखोला गाउँपालिका–१, स्याङ्जाको गुरुङ बस्तीलाई सिरुबारी (१,६१० मिटर) भनिन्छ जहाँ ३९ घर छन् ।
गाउँका १९ घरमा होमस्टे सुविधा छ । पर्यटकलाई होटल तथा लजमा होइन, गाउँलेकै भान्छामा खुवाएर उनीहरूकैमा बसाउने सुविधा नै होमस्टे (घरबास) हो । परिवारकै सदस्य भएर बस्छन् पाहुना । यत्ति हो कि उनीहरूले खाना र बासको मूल्य तिर्नुपर्छ । तर, निकै सस्तो । शिष्ट बोली, पारिवारिक माहोल र आत्मीय व्यवहार पाइन्छ होमस्टेमा जुन होटल वा रिर्सोटमा पाइन्न ।
आज देशभर होमस्टेको लहर चलेको छ । मुलुकका धेरै गाउँ होमस्टेकै कारण चम्किएका छन् । होमस्टे पर्यटनको शुभारम्भ भने सिरुबारीबाट भएको हो । त्यसकै सिको गरेका हुन् मुलुकका अन्य गाउँले । र, नेपालमा होमस्टे सुविधासहित गाउँ पर्यटन अवधारणा भित्र्याउने अनि त्यसलाई व्यवहारमा लागु गराउने अगुवा क्याप्टेन रुद्रमान गुरुङ हुन् ।
वि.सं. २०५४ असोज २२ गतेदेखि सिरुबारीका होमस्टेमा पाहुना राख्न थालियो । अनि यसलाई नेपालकै पहिलो पर्यटन गाउँ घोषणा गरियो । सुरुका दिनमा सिरुबारीका सबै घरमा पाहुना राखिन्थ्यो । बसाइँ–सराइँलगायत कारणले घट्दै गएर आज १९ घरमा होमस्टे सुविधा छ ।
होटल/रेस्टुरेन्टबाट सीमित व्यक्तिले फाइदा पाउँछन् । पाहुनालाई बाँडेर गाउँलेका घर–घरमा राख्दा सबैलाई फाइदा पुग्छ । सबैले कमाई गर्ने अबसर पाउँदा समाजमा शान्ति हुन्छ ।
जनबोलीमा रुद्रमानलाई ‘क्याप्टेनसाप्’ भनिन्थ्यो । पश्चिमतिर सेना वा प्रहरीका रिटायर्डहरूलाई उनीहरु बहाल हुँदाको पदले नै सम्बोधन गर्ने चलन छ । जस्तो कि हल्दारसाप्, जमदारसाप्, करसाप् आदि ।
रुद्रमान भारतीय सेनाका रिटायर्ड क्याप्टेनसाप् । दुःखको कुरा गाउँ पर्यटनका हाम्रा अगुवा क्याप्टेन रुद्रमान हामी माझ भने छैनन् । १५ फागुन २०७२ का दिन काठमाडौंको हिमाल अस्पतालमा उनको निधन भयो । त्यतिबेला उनी ८६ वर्षका थिए ।
तिनै क्याप्टेनसापले खनेको होमस्टेको गोरेटो आज राजमार्ग बनिसक्यो । नेपाल सरकारले विसं २०६७ मा ल्याएको होमस्टे सञ्चालन कार्यविधिले पहिलो पटक सामुदायिक होमस्टेलाई सम्बोधन गर्यो । यसरी राज्यभन्दा धेरै वर्ष पहिले नै क्याप्टेनसाप्ले नेपालमा सामुदायिक होमस्टेसहित ग्रामीण पर्यटनको अभ्यास गरेका थिए ।
एउटा कुरा, सन् १९९८ मा नेपाल भ्रमण वर्ष र सन् २०११ मा नेपाल पर्यटन वर्ष पनि मनाइयो । तर, राज्यले गाउँ पर्यटनका यी नायकलाई कहिल्यै सम्झेन । राज्यका तर्फबाट उनले सम्मान पाउनु पर्थ्यो । पाएनन् ।
राज्यको मात्र के कुरा, ग्रामीण पर्यटनको नाउँमा खुलेका भिटोफ र होमस्टे महासंघ जस्ता संस्थाले समेत उनको सम्मान गरेको देखिँदैन । तिनले क्याप्टेनसाप्लाई कहिल्यै सम्झिएनन् ।
जे हुनु भइसक्यो, इतिहासबाट हामीले पाठ सिक्नुपर्छ । अब ग्रामीण पर्यटनका नायकको जीवनकथा स्कुल तथा कलेजका पाठ्यक्रममा समावेश हुनुपर्छ, तब मात्रै गाउँ पर्यटनका यी अगुवाप्रति साँचो श्रद्धाञ्जली हुनेछ ।
क्याप्टेनसापलाई मैले पहिलोपटक भेटेको सिरुबारीमै हो । तिनताका म पोखरामा बसेर पत्रकारिता गर्थें । पर्यटन कार्यालय पोखराका प्रमुख पदम् केसीको अगुवाइमा विसं २०५७ चैतमा ‘मिलेनियम टे«ल’का गाउँलेसँग म पहिलोपटक सिरुबारी पुगेको थिएँ । टोलीमा भुगोलविद् डा. कृष्ण केसी र पर्यटनकर्मी बिरु बम्जन, ढोरफिर्दी गाविस तनहुँका अध्यक्ष श्यामराजा महतलगायत थिए ।
स्याङ्जाको अर्जुन चौपारी हुँदै हिँडेर हामी सिरुबारी पुगेका । त्यसको एक दशकपछि विसं २०५८ मा प्रकृतिप्रेमी समूहको टोलीसँग पोखराबाट गाडिमा सिरुबारीसम्मै पुग्यौं । टोलीको नेतृत्व समूहका संस्थापक डा. उमेश श्रेष्ठले गरेका थिए । तेस्रोपटक विसं २०७१ फागुनमा गाउँ पर्यटन प्रवद्र्धन मञ्च (भिटोफ) नेपाल पश्चिमाञ्चलका अध्यक्ष तारानाथ पहारीको समूहमा पुगेको थिएँ ।
क्याप्टेनसाप् वितेपछि पनि दुई पटक पुगिसकेको छु । पहिलो पटक पुगेका बेला हामीलाई क्याप्टेनसाप्ले फुलमालाले स्वागत गरेपछि गुम्बाको आँगनमा गाउँको ‘ब्रिफिङ’ गरेका थिए । भारतीय सेनाबाट विसं. २०३५ सालमा रिटायर्ड भएर गाउँ फर्केका उनले विसं २०२५ सालमै सिरुबारीलाई पर्यटन गाउँ बनाउने सपना देखेका रहेछन् !
‘भर्तीमा छँदा स्विजरल्याण्डको पर्यटन सम्बन्धी किताब पढेको थिएँ’, उनले हामीलाई सुनाएका थिए, ‘पहाडैपहाड भएको स्विजरल्याण्डमा पर्यटन हुन्छ भने हाम्रो गाउँमा किन हुँदैन भन्ने लाग्यो ।’
तर, धेरै समय लाग्यो पर्यटनको बिउ रोप्न । सुरुका दिनमा कसैले पत्याएनन् । पत्याउनु पनि कसरी ! बिजुली, सडक, टेलिफोन केही नपुगेको अनकन्टार गाउँलाई पर्यटन केन्द्र बनाउने कुरा । यतिसम्म कि काठमाडौंको पर्यटन विभागमा ‘गाउँ पर्यटन’ सुरु गर्ने भिजन लिएर जाँदा त्यहाँका हाकिमले हाँसेर उडाइदिएको नमिठो घटना सुनाउँथे उनी ।
थाकेनन् रुद्रमान । एउटा यस्तो समय आयो, विसं २०४८ सालदेखि उनले पूर्वाधार विकासमा जोड दिए । र, विसं २०५४ असोजमा सिरुबारीलाई नेपालको पहिलो पर्यटन गाउँ घोषणा गरे । हरेक घरमा सफा भान्छा, शौचालय, बाथरुमको व्यवस्था मिलाए ।
मुलुक माओवादी द्वन्दले थिलथिलो भएका बेला सुरु गरिएको पर्यटन अभियानमा सोचेजति पर्यटक आएनन् । जति आए, सबैजना गाउँलेको आत्मियताबाट प्रभावित भए । विस्तारै आन्तरिक पर्यटक पनि आउन थाले । विसं २०६२/०६७ को गणतान्त्रिक आन्दोलन पछि भने राम्रै पाहुना आउन थाले । त्यसपछि नेपालका थुप्रै गाउँहरू होमस्टे सिक्न सिरुबारी आए । हेर्दाहेर्दै सिरुबारी होमस्टे पाठशाला बन्यो ।
संसारमा सपना देख्नेहरू नै सफल हुन्छन् । रुद्रमानले सपना देखे । कर्म गरे । फूल फुल्यो । र, फल फल्यो । त्यो फल सिंगो गाउँलेले चाख्न पाए । सिरुबारीको कथा देशभर फैलियो । अरु गाउँले पनि त्यसको सिको गरे । सर्बत्र होमस्टे पर्यटनको लहर चल्यो ।
पहिलोपटक सिरुबारी जाँदा क्याप्टेनसापले नै हामीलाई गाउँ घुमाएका थिए । बिहान बस्ती मास्तिर गोरुजुरे डाँडा डुलाएका थिए । साँझ उनीसँगै हामी गुम्बाको आँगनमा नाचेका थियौं ।
ख्याल गर्नु पर्ने कुरा, जुनसुकै होमस्टेमा पहिल्यै खबर गरेर जानु पर्छ । सिरुबारी प्याकेज गज्जबै छ । म धेरै होमस्टे गाउँ घुमिसकेको छु । मलाई सिरुबारी प्याकेज औधी मन पर्छ ।
सिरुबारी शैली फरक छ । गाउँ पुगेपछि प्रवेशद्वारबाटै पञ्चेबाजा र फुलमालाले स्वागत गर्छन गाउँले । स्वागतपछि गुम्बामा लगिन्छ । बुद्धको दर्शन गराएर हल्का खाजा खुवाइन्छ । कति दिनको बसाइ हो त्यही अनुसार घुमफिर योजना बनाइन्छ ।
अनि पाहुनालाई गाउँलेका घर–घरमा बाँडिन्छ । पर्यटन समितिले आलोपालो गरेर पर्यटक राख्छ । यसो गर्दा सबै घरमा आम्दानी बाँडिन्छ ।
साँझको खानापछि सांस्कृतिक कार्यक्रम गरिन्छ । गुम्बाको आँगनमा राती ८ बजेदेखि डेढ घन्टा नाचगान चल्छ । त्यसपछि बास । बिहान ब्युँझँदा गुम्बाबाट ओम मणि पद्मे हुँ सुनिन्छ ।
सिरुबारीबाट हिमाल देखिँदैन तर करिब डेढ घण्टा उकालो चढेमा गाउँको शिरानका तीन ओटा डाँडाहरू देउराली, गोरुजुरे र थुम्रोजुरो पुगिन्छ । त्यहाँबाट धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्णलगायत हिमालको लर्कन देखिन्छ । सबैभन्दा अग्लो डाँडो थुम्रोजुरो (२,०२३ मिटर) हो ।
त्यसैले बिहान झिसमिसेमै डाँडातिर घुमाइन्छ । डाँडामै चिया÷खाजा खुवाइन्छ । थर्मसमा चिया बोकेर डाँडामै पु¥याउँछन् गाउँले । हिमाल दर्शनपछि डहरा ऋषिले तपस्या गरेको आश्रम घुमेर ओरालो झरिन्छ । घरमा पुगेर खाना खुवाइन्छ । खानापछि गाउँ भ्रमण । साँझ फेरि नाचगान । गाउँमा ऊनी टोपी कोसेली किन्न पाइन्छ । बिदा हुने बेला गुम्बाकै आँगनमा आमा बाबाले फूलमाला लगाइदिँदै भन्छन्, ‘फेरि आउनुस् है ।’
सिरुबारी पुग्दा म पर्यटनविद् झलक थापालाई सम्झिन्छु । उनी सधैं भन्छन्, दिगो पर्यटन मन्त्र हुन्, ‘आँखामा आत्मीयता, व्यवहारमा हार्दिकता र इमान्दारी ।’ सिरुबारीका गाउँलेले यो मन्त्र व्यवहारमै उतारेका छन् ।
सिरुबारी भारतीय र बेलायती सेनाको जागिरबाट निबृत्त भएकाहरूको गाउँ । गाउँमा विशेषतः बुढापाका बस्छन् । युवा जति बाहिर छन् । पर्यटन अभियानले लोकसंस्कृति संरक्षण, सरसफाइ र आय आर्जन समेत भएको छ ।
क्याप्टेनसाप् जिवित छँदा म जति पटक सिरुबारी गएँ, त्यतिपटक उनलाई भेटें । दोस्रोपटक सिरुबारीमा उनी भेटिएनन् । बिरामी भएकाले पोखरामा बसेर उपचार गराउँदै रहेछन् । सिरुबारीबाट फर्केपछि पृथ्वीचोक, पोखराका होटल व्यवसायी मित्र बिष्णु थापा र मैले उनलाई घरमै पुगेर भेटेका थियौं ।
होमस्टे आफैंमा खुला पाठशाला हो । ज्ञानको भण्डार । रैथाने खाना, संस्कृति र प्रकृतिको अध्ययनस्थल । त्यसैले सिरुबारी जस्ता होमस्टे भिलेज अध्ययन गर्न जाँदा कम्तीमा दुई रात छुट्टयाउनै पर्छ ।
मित्रहरू तीर्थ न्यौपाने र अनन्तकुमार श्रेष्ठले ‘ग्रामीण पर्यटनका नायक’ नामक जीवनी पुस्तक लेखिसकेका छन् । क्याप्टेनसाप् छँदै त्यो पुस्तक समपर्ण गर्ने योजना भने अधुरै भयो ।
सिरुबारीको कुरा गर्दा बेलायती नागरिक टोनी पारलाई बिर्सनु हुँदैन । सिरुबारीको मार्केटिङमा उनले ठूलै गुन लगाएका छन् । टोनीलाई सिरुबारी पु¥याएर चिनापर्ची गराइदिएथे पर्यटनविज्ञ पदम् केसीले । ग्रामीण पर्यटनको अबधारणा रुद्रमानको । उनले पर्यटन अभियान सुरु गरे । अनि टोनीले विदेशीलाई सिरुबारी ल्याउन हातेमालो गरे ।
पर्यटनका अगुवा भनेर मात्र रुद्रमानको चिनारी पूरा हुँदैन । उनी गाउँका सामाजिक काममा उत्तिकै सक्रिय थिए । गाउँका अभिभावक थिए । त्यतिमात्र होइन, १६ वर्षको उमेरमा भारतीय सेनामा भर्ति भए । बिदामा आएर गाउँमा आउँदा विद्यार्थीलाई पढाउँथे । चेतनाको दियो बाल्थे ।
उनले सन् १९६२ मा भारत र चीनबीच भएको लडाइँ लडे । त्यतिबेला भारतीय सेनाका धेरै हताहत भए । कमाण्डरसहित धेरैलाई चिनियाँले बाँधेर लगे । पछि उनले लाहोरको लडाइँ पनि लडे । जवानबाट सेनामा प्रवेश गरेका उनी वि.सं. २०३५ सालमा रिटायर्ड हुँदा क्याप्टेन भैसकेका थिए ।
पूर्व सांसद समेत हुन् रुद्रमान । कांग्रेस राजनीति गरे उनले । विसं २०३६ सालमा पाल्पामा नेपाली काँग्रेसको गोष्ठिमा पुगेछन् उनी । त्यहाँ उनले भनेछन्, ‘बिपी बाबु तपाईं गणेशमान जत्तिकै गाउँगाउँ जाने हो भने देशमा प्रजातन्त्र छिट्टै आउँछ भन्छन् नि जनताले ।’
बिपीलाई उनका कुरा घत प¥यो । कार्यक्रम सकिएपछि एकान्तमा उनीसँग भलाकुसारी गरे बीपीले । त्यतिबेलैदेखि कांग्रेस राजनीतिमा सक्रिय भए । उनी विसं २०४२ सालको सत्याग्रहमा जेल परे । पटकपटक गरेर पञ्चायतकालमा ६ महिना कारागार जीवन बिताउनुप¥यो ।
बिपी र गिरिजाप्रसादका प्रिय थिए उनी । विसं २०४८ सालको चुनावमा स्याङ्जा क्षेत्र नं २ बाट सभासद् बने । विसं. २०५६ को आम निर्वाचनमा पनि गिरिजाबाबुले उठ्न आग्रह गरे । तर, उनले नाई भने । वि.सं. २०६४ सालको संविधान सभा निर्वाचनमा पनि प्रस्ताव गरे । त्यतिबेला पक्षघातबाट पिडित भएकाले हिँडडुल गर्नै गारो थियो उनलाई । चुनाव लड्ने कुरै भएन । गिरिजाबाबुले फेरि जोड दिए, ‘त्यसो भए समानुपातिकमा बस्नुस् । सैनिकका कोटा पनि छन् ।’
जवाफमा रुद्रमानले भनेछन्, ‘म प्यारालाइसिस भएकालाई सांसद बनाएर कसरी देश चल्छ । अरु सक्नेहरूलाई बनाउनुस् ।’ उनकी श्रीमती पोखरामा छिन् । छोरा जापानमा व्यवसाय गर्छन् । बुहारी उर्मिलाले गाउँको नेतृत्व गर्दै आएकी छिन् । उनका दुइटी छोरी पनि विदेशमै छन् ।
क्याप्टेनसाप्को योगदान पर्यटन इतिहासमा सुनौलो अक्षरले लेखिइसकेको छ । जिल्ला पर्यटन विकास समिति स्याङ्जाले वि.सं. २०६७ मंसिरमा काठमाडौंमा उनलाई ‘ग्रामीण पर्यटनका नायक’ उपाधीले सम्मान ग¥यो । सभामुख सुबासचन्द्र नेम्वाङका हातबाट सम्मानपत्र थापेपछि उनी भावुक बनेका थिए ।
उनको विसं. २०६९ माघमा चौरासी पूजा गरिएको थियो । त्यस दिन उनले विभिन्न विद्यालयमा अक्षय कोष राखिदिएका छन् । लाहुरे भइकन पनि उनी सादा जीवन उच्च विचारका थिए । लाहुरबाट फर्केपछि इष्टमित्रले पोखरा वा काठमाडौं बस्न सुझाए । तर, उनी गाउँमै रमे । समाज रुपान्तरणका अभियन्ता बने ।
रुद्रमानले यो धर्ति छाड्दा गाउँ पर्यटनमा चासो राख्ने धेरैका आँखा रसाए । सिरुबारीले अभिभावक गुमाएको छ । क्याप्टेनसापको सम्झनामा गाउँलेले उनको सालिक बनाइसकेका छन् । सिरुबारीमा गाउँलेले ‘रुद्रमान सङ्ग्रहालय’ पनि बनाउनु पर्छ ।
उनले प्रयोग गरेका सामान, पढेका किताव, ग्रामीण पर्यटन सम्बन्धी सूचना र सामाग्री सहितको संग्रहालय । समयसँगै सिरुबारी अन्तर्राष्ट्रिय गाउँ बन्यो । जसले सन् २००१ मा पाटा गोल्ड अवार्ड पाएको थियो । एउटा अनकण्टार गाउँलाई पर्यटनधाम बनाउने क्याप्टेन रुद्रमानको योगदान स्तूत्य छ । हार्दिक श्रद्धाञ्जली क्याप्टेनसाप् !