जिल्ला प्रशासन कार्यालय स्याङ्जाले नेपालीहरुको महान चाड तिहार, शुभ दीपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा भूइँचम्पा, पटाका, आतिसबाजीजस्ता विष्फोटक पदार्थ तथा नियन्त्रित र निषेधित वस्तुको अवैध आयात ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्न अनुरोध गरेको छ ।
स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले यस्ता पदार्थ प्रयोग हुँदा सर्वसाधारण जनताको स्वास्थ्यमा असर गर्ने भएकाले प्रयोग र बिक्रीवितरण नगर्न अनुरोध गरेको बताए ।
स्याङ्जा प्रशासनले तिहार तथा दीपावलीको अवसरमा कानून विपरीत जुवातास, कौडा, लङ्गुरबुर्जा लगायतका पैसाको हारजित हुने खेल नखेल्न नखेलाउन अनुरोध गरेको छ ।
बजारमा कृत्रिम अभाव, जम्माखोरी, कालोबजारी, अस्वाभाविक मूल्यवृद्धिजस्ता कार्य नगर्न/नगराउन साथै म्याद गुज्रेका भाईमसला तथा अन्य उपभोग्य वस्तुहरु खरिद विक्रि नगर्न नगराउन सूचित गर्दै यस्ता कुनै गतिविधि तथा क्रियाकलाप भए/गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत दिएको छ ।
यस्तै, तिहारका अवसरमा देउसी, भैलो लगायतका सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा एकआपसमा भाईचारा र आत्मीयता अभिवृद्धि तथा आ-आफ्नो संस्कृतिको संरक्षण हुने गरी अरुको धर्म-संस्कृति र परम्पराप्रति ठेस नपुग्ने गरी सौहार्दपूर्ण तरिकाले मनाउन प्रशासनले आग्रह गरेको छ । देउसी, भैलो, नाचगानजस्ता कार्यक्रम सार्वजनिक यातायात र जीवनलाई असर नपर्ने गरी मर्यादित एवम् अनुशासित रुपमा रातको १०:०० बजेसम्म मात्र सञ्चालन गर्न प्रशासनको आग्रह छ ।
सहायक प्रजिअ पौडेलले दीपावलीको अवसरमा बिजुली तथा मैनबत्तीजस्ता सामाग्रीको प्रयोग सावधानीपूर्वक गर्न जानकारी दिँदै अचानक आगलागी भएमा नजिकको सुरक्षा निकायलाई खबर गरी नियन्त्रणमा लिन आग्रह गरेका छन् ।
उनले सवारीसाधनहरुको छतमा बस्ने, झुण्डिएर यात्रा गर्ने कार्य नगर्न नगराउन तथा विभिन्न बहाना बनाई लामो / छोटो दूरीका भाडाका सवारीसाधनहरुले यात्रुसँग बढी पैसा असूल गर्ने, दुर्व्यवहार गर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने गरेको पाइएमा प्रहरी कन्ट्रोल नं. १०० मा सम्पर्क गर्न अनुरोध गरे ।
सार्वजनिक स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा भीडभाड, हुलहुज्जतजन्य गतिविधि गरी समाजमा अशान्ति सिर्जना गर्ने एवम् अशोभनीय क्रियाकलाप नगर्न नगराउन समेत स्याङ्जा प्रशासनको अनुरोध छ ।
यस्ता पर्वहरु प्रचलित परम्परा अनुसार सामाजिक एवम् साँस्कृतिक पहिचान कायम हुने गरी प्रचलित कानूनको पालना गर्दै मनाउन साथै कसैको इच्छा र चाहना विरुद्धका क्रियाकलाप गर्ने र समाजमा कानून विपरीत कार्य गर्ने प्रवृत्तिलाई नियन्त्रण गरी खुशीयालीपूर्वक मनाउन शान्ति सुरक्षा एवम् अमनचयन कायम गर्न समेत जिल्ला प्रशासन कार्यालय स्याङ्जाको आग्रह रहेको छ ।