Syangja Dainik Media
फेदीखोलामा पढाइ सकिएपछि जागिर

स्याङ्जाको फेदीखोला गाउँपालिकाले पढाइ सकिएपछि जागिरको अवसर प्रदान गरेको छ ।

फेदीखोला -२ अन्तर्गतको सिद्धार्थ माध्यामिक विद्यालयबाट २०८० मा डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीहरु मध्येबाट पेडअप इन्टर्नशीपमा छनौट गरी पढाइ सकिएपछी जागिरको अवसर प्रदान गरिएको गाउँपालिका प्रमुख घनश्याम सुवेदीले जानकारी दिए ।

एक कार्यक्रमका बीचमा पेडअप इन्टर्नशीपमा छनौट भई कार्यालयमा इन्टर्न गर्न आएका विद्यार्थीलाई उत्कृष्ट कार्यसम्पादनको अपेक्षासहित पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतसहितले सुभकामना, बधाई दिँदै स्वागत गरेका हुन् ।

Ismt_Pokhara

सोही कार्यक्रममा कार्यालयमा इन्टर्न गर्न आएका मध्ये एक अमृता गुरुङले पालिकाले आफूहरुलाई यस्तो अवसर प्रदान गरेकोमा पालिकाप्रती आभारी रहेको बताइन् ।

उनले अहिलेको जेनेरेशन भनेको सूचना प्रविधिको रहेको र आफूहरु यहि क्षेत्रमा लागिपरेको बेलामा आवश्यकताअनुसार पालिकाले अवसर दिरहँदा आफूहरुले पाएको जिम्मेवारी आगामी दिनमा पूरा गर्ने बताइन् ।

कार्यक्रममा विद्यार्थीहरुको तर्फबाट पालिकाले आफूहरुलाई स्वागत गरेकोमा गुरुङले धन्यवाद दिँदै खुशी व्यक्त गरेकी थिइन् ।

फेदीखोला गाउँपालिका वडा नं २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयमा शैक्षिक सत्र २०७६ सालदेखि डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङको सुरुवात गरिएको थियो ।

३ वर्षे कोर्षमा ६ सेमेष्टरमा कोर्स सञ्चालित छ । गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययन गर्ने विपन्न, दलित तथा द्वन्द्व पीडित, जेहेन्दार विद्यार्थीहरूलाई शत प्रतिशत छात्रवृत्ति प्रदान गरेको जनाएको छ । यस अन्तर्गत हरेक वर्ष भर्ना हुने २ जना विद्यार्थीले निःशुल्क पढ्न पाएका छन् ।

छैटौं सेमेष्टर उत्तीर्ण गरिसकेपछि विद्यार्थीको खाली समय व्यवहारिक ज्ञानमा लगाउनको लागि आत्मनिर्भर बन्दै बाँकी भविष्यको तयारी गर्नका लागि पालिकाले आफ्नै कार्यालयमा पेडअप इन्टर्नशीप अन्तर्गत ६ महिनासम्म मासिक तलब पाउने गरी अवसर प्रदान गरेको हो ।

उनीहरूले काम गर्दै व्यवहारिक ज्ञान सिक्ने मौका प्राप्त गर्नेछन् । पहिलो सत्रमा पास आउट भएका विद्यार्थीहरुले यो अवसर प्राप्त गरिसकेका छन् । अहिले पालिकामा दोश्रो सत्रमा पास आउट भएका विद्यार्थीहरु यस मौकाको सदुपयोग गरिरहेका छन्।

विद्यार्थीले सफलतापूर्वक छैटौं सेमेष्टर उत्तीर्ण गरिसकेपछि पालिकाले सूचना निकालेर विद्यार्थीलाई इन्टर्नको लागि आवेदन दिन आग्रह गर्दछ । आवेदन मध्येबाट पेडअप इन्टर्न कार्यविधि २०८० को आधारमा उत्कृष्ट ४ जना विद्यार्थी छनौट गरी ६ महिनासम्म विद्यार्थीलाई मार्गदर्शन गराउने, व्यवहारिक ज्ञान, सीप सिकाउने गर्दै आएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update