Syangja Dainik Media
अर्जुनचौपारीमा गाईपालक किसानलाई मासिक हजार रुपियाँ

स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले गाईपालक किसानलाई प्रोत्साहन स्वरुप मासिक एक हजार रुपियाँ उपलब्ध गराउने भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ को स्वीकृत वार्षिक कार्यक्रम अनुसार पहाडे गाईपालन एवं संरक्षण कार्यक्रम सञ्चालन गर्दै पहाडे गाई पाल्ने किसानलाई प्रोत्साहन रकम दिन लागेको हो ।

सांस्कृतिक एवं धार्मिक महत्त्व बोकेको राष्ट्रिय जनावर गाई पाल्नेको संख्या घटिरहँदा पालिकाले यो अभियान ल्याएको हो ।

Ismt_Pokhara

अर्जुनचौपारीको वार्षिक स्वीकृत कार्यक्रम अनुसार पहाडे गाईपालन एवं संरक्षण कार्यक्रम सञ्चालनका लागि इच्छुक गाईपालकका लागि आवेदन खुलाइएको पालिकाले जनाएको छ ।

गाउँपालिका बासी इच्छुक गाईपालक किसानले  नेपाली नागरिकताको प्रतिलपि १ प्रति, लालपूर्जाको प्रतिलिपि/जग्गा भाडामा लिएको भए कम्तिमा ५ वर्षको लागि सम्झौतापत्रको प्रतिलिपि १ प्रति, गोठसहित गाई धनी देखिने गरी गाईको फोटो २ प्रति, २ जना छिमेकीको सिफारिस, वडा कार्यालयको सिफारिससहित आवेदन पेश गर्न पालिकाले सूचना प्रकाशित गरेको छ ।

पालिकाले छनौट भएका आवेदकलाई गाईपालन गर्ने समयसम्म प्रति गाईको मासिक रु १०००/- (एक हजार मात्र) प्रोत्साहन रकम उपलब्ध गराउने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताए । उनले रित नपुगी पेश भएका प्रस्ताव छनौट प्रकृयामा समावेश नगरिने जानकारी दिए ।

पशुपालन माध्यमबाट पालिकालाई आत्मनिर्भर गराउने उद्देश्यका साथ यो अभियान थालेको गाउँपालिका प्रमुख प्रकाश तिवारीले बताए । उनले गहुँत, गोबरको महत्त्व रहेको पहाडे गाईको दुध पौष्टिक हुने भएकाले गाईको संरक्षणमा पालिका जुटेको बताए ।

गाईपालनको लागि अहिले घाँस प्रशस्त रहेको बताउँदै तिवारीले पालिकामै नवग्रह मन्दिर बन्दै गएकाले गाईपालनको महत्व अझै बढ्ने बताए । 

गाउँमा एक दुई जनाले गाई पालेमा गहुँत, गोबर, दुध तथा दान गर्ने प्रक्रियामा गाईलाई प्रयोग गरेर आय आर्जन गर्न सकिनेछ । 

भैँसी, बाख्रालगायतका पशु तथा कृषि क्षेत्रमा प्रतिशतको आधारमा दिने अनुदान प्रभावकारी नभएकाले पालिकाले गाईपालनमा याो विधि अपनाएको हो । 

प्रकाशित मिति: बिहीबार, कात्तिक १५, २०८१  १४:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update